‘लाल सलाम’को मुद्रामा देखिएका बाबुराम वाम एकता प्रक्रियामा आउने खबरले चौतर्फी चर्चा बटुल्यो । तर दुर्भाग्य, यो चर्चा लगत्तै बाबुरामको असन्तुष्टिको विषयमा परिवर्तित भयो । नयाँ शक्ति नेपालले १५ सीटको दावी गरेको खबरसँगै बाबुराम बाहिरिए । एक हप्तापनि उनको धैर्यता वाम एकताको पक्षमा देखिएन ।
बाबुराम भट्टराईले यो अवधिमा नेपालमा
अग्रगामी रुपान्तरण आवश्यक रहेको तर्क गर्दै नेपाली कांग्रेस पश्चगामी
शक्ति भएको सार्वजनिक टिप्पणी गरे । उनले आफ्नो फेसबुक वालमा कांग्रेसलाई
सिध्याउनु पर्ने आशयको समाचार सार्वजनिक समेत गरे । तर यता वाम तालमेलमा
उनले भने अनुसारको महत्व र सीट नपाएपछि उनले गोरखामा जित्नका लागि नेपाली
कांग्रेससँग वार्ता अघि बढाए ।र, अन्तमा, वाम एकता र चुनावी तालमेलबाट
अत्तालिएको कांग्रेसले बाबुरामलाई साथ थियो । बाबुरामलाई गोरखाबाट
कांग्रेसले समर्थन गर्यो । र, सँगसँगै दुई सीट समेत नयाँ शक्तिलाई दियो ।
बाबुरामका लागि नेपाली कांग्रेसको स्थानीय
पार्टी कमिटिको बिरोधका बावजूद पनि गोरखामा नेपाली कांग्रेसले समर्थन
गरेपनि उनका लागि अवस्थ भने त्यति सहज छैन । खासगरी संविधान निर्माणको
क्रममा उनले देखाएको व्यवहार, पार्टी परित्याग, नयाँ शक्तिभित्रको निरन्तर
गइरहेको पहिरो र गोरखाको वामपन्थी जनमतको अवस्था हेर्दा बाबुरामको शक्ति
विजय नजिक पुग्ने हैसियत राख्ने देखिन्न ।
बाबुराम संसदका लागि चाहिने पात्र हुन,
यसमा शंका छैन । उनको आफ्नो व्यक्तित्व समेत छ, त्यसमा पनि दुईमत छैन । तर
यी दुई कुराले मात्रै उनले निर्वाचन जित्न सक्ने अवस्था भने छैन । उनको
लोकप्रिय मत र नेपाली कांग्रेसको मतबाहेक उनले वामपन्थीहरुको मत गोरखाबाट
पाउने अवस्था छैन । नारायणकाजी श्रेष्ठ गोरखामा बाबुराम जत्तिको लोकप्रिय
नभए पनि राष्ट्रिय राजनीतिमा बाबुराम भन्दा बलियो भूमिकामा देखिएको कारण
समेत उनले भोट पाउने आधार बढी देखिएको छ ।
बाबुरामको अहंकार र व्यक्तिवादी चरित्रका
कारण उनले नयाँ शक्तिलाई जोगाउन सकेनन् । यतिसम्म कि बाबुरामले उम्मेदवारी
घोषणा गरेपछि समेत नयाँ शक्ति नेपालका एक दर्जन बढी जिल्ला नेताहरु माओवादी
केन्द्रमा प्रवेश गरेका छन् । अष्पुष्ट समाचार सूचनाहरुको भर पर्ने हो भने
यस्ता स साना पहिरोहरु निर्वाचन अघि निकै जाने अवस्था गोरखामा विद्यमान छ ।
अर्कोतर्फ नेपाली कांग्रेसको जिल्ला
नेतत्वले बाबुरामलाई नीतिगतरुपमा समर्थन गरेपनि कार्यकर्ताको तहमा सबै
कांग्रेस कार्यकर्ता या समर्थकको भोट बाबुरामले पाउने अवस्था देखिन्न । वाम
र प्रजातान्त्रिकबीच लामो तिक्तता रहेको जिल्ला हो गोरखा । चितवनमा पार्टी
सभापति शेरबहादुर देउबा आफै उपस्थित भएर माओवादी केन्द्रका लागि भोट
मागेको अवस्थामा समेत सबै नेपाली कांग्रेस समर्थकहरुले रेणु दाहाललाई भाेट
नहालेकाे दृष्टान्त हाम्रा सामु छ । यो अवस्थामा बाबुरामले माओवादी छोडेपनि
उनलाई कम्युनिष्ट नै भनेर हेर्ने अवस्था बाँकी रहेकोले कांग्रेसको सबै भोट
उनले पाउन सक्दैनन् ।
गोरखाका कम्युनिष्ट समर्थकहरुमा बाबुराम
एउटा वितृष्णाको नाम हो । एउटा असन्तुष्ट अवसरवादी, नाम लिने बित्तिकै
तिक्तता पैदा हुने पात्रको नाम । उनको उज्यालो व्यक्तित्व उनको यो अँध्यारो
पक्षले निलेको अवस्था त्यहाँ देखिन्छ ।

0 Comments